माओवादी र सरकार बीच बि.सं.२०६२÷६३को आन्दोलन पश्चात भएको वृहत शान्ति सम्झौता पछी राष्ट्रिय राजनीतिको वृतमा जातीय मुद्दा सधैं चर्चामा रहदैं आएको छ । यसै सन्दर्भमा समाजसेवी, बुद्धिजीवी एवं तराई कुम्हार समाजका केन्द्रीय अध्यक्ष सिताराम पंडित ज्यूसँग न्यूज पोष्टका सम्पादक विनोद कुमार विश्वकर्मा ज्यूले गर्नु भएको कुराकानीको आधारमा प्रस्तुत भएका विचारहरु यस प्रकार रहेका छन् ।
(बि.सं.२०१८ साल पौष २८ गते महोत्तरी जिल्लाको सम्सी गाँउ वडा नं.६ मा जन्मिनु भएका सिताराम पंडित ज्यूले १५ बर्ष नेपाल सरकारको स्वास्थ्य सेवा अन्तर्गत सेवा पश्चात, विगत २५ बर्ष देखि त्रि.वि. शिक्षण अस्पतालको रेडियोलोजी विभागमा सिनियर टेक्निकल अफिसरको रुपमा कार्यरत हुनुहुन्छ । त्रि.वि. प्रजातन्त्रवादी कर्मचारी संघ, शिक्षण अस्पताल इकाएको ३ कार्यकाल अध्यक्ष रही सकनु भएको वहाँले नेपाल रेडयोलोजिकल सोसाईटीका राष्ट्रिय अध्यक्षको अनुभव समेत संगालनु भएको छ ।)
१. तराई कुम्हार समाज नेपाल के हो?
नेपालमा भाँडाकुडाँ बनाउने जातिलाई सर्व प्रचलित भाषामा कुम्हार भनिन्छ जसलाई संस्कृतमा कुम्भकार भनिन्छ । नेपालका त्यही भाँडाकुडाँ बनाउने कुम्हार जातिका बन्धुहरुलाई संगठित गर्नु पर्ने राजनीतिक र सामाजिक आवश्यकता बन्दै गयो । त्यही आवश्यकताको पुर्तिका लागि वि.संं.२०६६मा विशुद्ध सामाजिक, गैर–सरकारी, गैर–राजनीतिक संस्थाको रुपमा काठमाडौं जिल्ला प्रशासनमा विधिवत दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध रहेको संस्था हो । स्थापना पछि यो स्वजातिय बन्धुहरुको हक हित र उत्थानका लागि निरन्तर कार्यरत छ । हाल यस समाजको कार्यक्षेत्र तराईको २२ वटा जिल्ला र काठमाडौं उपत्यका रहेको छ ।
२.कुम्हार जातिको खास समस्याहरु के के रहेका छन् ?
नेपालका कुम्हार जातिको मुल समस्याहरु मध्ये पहिलो समस्या भनेको राज्यबाट स्पष्ट पहिचानको प्राप्त नहुनु नै हो । यसैगरी कुम्हारहरुको परम्परागत पैशा लोप हुने अवस्थामा पुग्नु अर्को समस्या हो । उच्च शिक्षाको पहुँचबाट पनि कुम्हार जाति पछी नै रहेको छ, साथै हाम्रो जातिको आर्थिक अवस्था निकै नै खराब रहेको छ । अधिकांश स्वजातीय युवाहरु विदेशीन बाध्य भएका छन् ।
३. कुम्हार जाति चारवर्ण अन्तर्गत कुन वर्गमा पर्दछ ? किन ?
कुम्हारहरुको परम्परागत पेशा भाँडाकुडाँ बनाउनु र त्यसलाई बेचेर जीविको पार्जन गर्नु हो । यसरी परम्परागत रुपमा कुम्हारहरुले ब्यपार गर्ने भएकोले कुम्हारहरु वैश्य (व्यपारी) वर्गमा पर्दछ । तर नेपालका अधिकांश कुहारहरुले पंडित थर लेख्ने भएकोले यस जातिको परिचय र पहिचान जटिल बनेको छ । नेपालको सन्दर्भमा पंडित थर ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र यी चारै वर्गले लख्ने गरेको पाइन्छ । पुरोहितकर्म गर्ने ब्राहमण समुदायले पंडित लख्ने गरेको कुरा सबैलाई थाहा छ । पश्चिम पहाडका क्षेत्री कुमालहरुले समेत पंडित लेख्दछन् । तराईका कुम्हार (वैैश्य) हरुले त पंडित लख्छन् नै, साथै पश्चिमको वादी (शुद्र) समुदायले पनि पंडित लेख्ने गरेको पाईएको छ ।
४. कुम्हार त पहाडमा पनि छ, संस्थाको नाममा किन तराई जोडिएको?
यस संस्थाको जन्महुनु भन्दा पहिले पनि नेपलका कुम्हार जातिलाई संगठित गर्न केही संस्था कार्यरत थियो । ती संस्थाहरुले तराईका कुम्हार, पहाडका कुमाल र भक्तपुरका प्रजापतिहरु लाई पनि एउटै मानेर एवं ठानेर कार्य गर्ने गर्दथ्यो । जुन सरासर गलत एवं भ्रमपुर्ण बुझाई थियो ।
यस परिवेशमा तराईको कुम्हार जाति पहाडको कुमाल जाति भन्दा भिन्न हो भन्ने प्रष्टयाउन साथै भक्तपुरका प्रजापतिसँग पनि हाम्रो कुनै जातीय सम्बन्ध छैन भन्ने सत्य स्थापित गराउनका लागि हामिले संस्थाको नाममा तराई जोड्नु आवश्यकता बन्न गएको थियो । आज त्यो सत्य स्थापित भएको छ । अब देशको राजनीतिक र सामाजिक अवस्था पनि बदलिएको छ । देश भरीका बुद्धिजीविहरुले पनि यस बिषयमा प्रश्न गरीरहेका छन् । अतः यदि कानुनी जटिलता नआए हामी छिट्टै संस्थाको नामबाट तराई शब्दलाई निकालेर त्यस स्थानमा उचित शब्द राख्ने सोचमा छौं । निश्चय नै हामी देश भरीका कुम्हार बन्धुहरुका लागि हौं, तराई क्षेत्रमा बस्नेहरुका लागि मात्र होइनौं ।
५. यस समाजको उदेश्य के के रहेको छ? के कुम्हार समाजले जातीय राजनीति पनि गर्दछ ?
हाम्रो संस्थाको विधान २०६६ अनुसार ९ वटा उदेश्यहरु रहेका छन् । देश भरी छरिएर रहेका कुम्हार बन्धुहरुलाई संगठित गर्नु यस संस्थाको प्राथमिक उदेश्य हो । पेशागत विकासका लागि क्रियाकलापहरु गर्ने र आवश्यकता पर्दा राजनीतिक अधिकार, आर्थिक अधिकार आदिका लागि राज्यलाई संगठित रुपमा दबाब दिने साथै सामाजिक रुपमा सहज जीवन यापनका लागि संगठित रुपमा सहयोग आदान प्रदान गर्नु गराउनु नै सार रुपमा हाम्रो उदेश्य रहेको छ ।
हाम्रो संस्था विधानत गैर राजनीतिक संस्था हो । सबै राजनीतिक विचार र पार्टीका व्यक्ति यसमा सदस्य बन्न सक्दछन् तर यो संस्था कुनै राजनीतिक पार्टीसँग नजोडिएको स्वतन्त्र संस्था हो । यसलाई जातीय राजनीतिको रुपमा बुझनु गलत होला । जातीगत व्यवस्था नेपाली हिन्दु समाजको विशेषता एवं व्यवस्था नै हो । अतः पहिले देखि नै सामाजिक संगठनहरुको एकताको आधर स्वभाविक रुपमा जाती नै बन्यो । अतः हामी पनि जातिगत रुपमा संगठित बन्न स्वभाविक रुपमा सामाजिक बाध्यतामा प¥यौं । आजका दिन सम्म हाम्रो संस्थाले जतीय राजनीति नगरेको बताउन चाहन्छौं ।
६. नेपालमा कुम्हारको जनसंख्या कति छ? जनगणनामा कुमाल र कोहार लाई पनि छुट्टै राखेको पाइन्छ किन?
बि.सं.२०४८को जनगणना अनुसार नेपालमा कुम्हारको जनसंख्या ६२,००० थियो । बि.सं.२०५८मा कुम्हारको जनसंख्या ५४,४१३ रहेको थियो जुन् बि.सं. २०६८मा आएर ६२३९९ भयो ।
सरकारी तथ्याङ्क अनुसार ०४८ सालको कुम्हारको जनसंख्या भन्दा ०५८को जनसंख्या घटेको देखियो र ०६८मा आएर थोरै फेरी बढ्ेको देखियो । ०५८को जनगणनामा कुम्हारको जनसंख्या घटेको तथ्याङ्कले हामीलाई चिन्तित बनायो र पछी बुझदैं जाँदा यो तथ्याङ्क संकलनको प्राविधिक कमजोरीले त्यसो भएको रहेछ । तथ्याङ्क संकलनका बेला कुम्हारहरुले अज्ञानतावश कुम्हार भनी विवरण दिनु पर्नेमा कुमाल भनी विवरण लेखाउन पुगे, पहाडीया तथ्याङ्क संकलकहरुले त्यसलाई नकेलाई सिधा सिधा कुम्हारमा पर्नु पर्ने जनसंख्या पनि कुमालको जनसंख्यामा गणना गरिदिए । फलतः कुम्हारको जनसंख्या घटेको देखिन पुग्यो । अब बि.सं.२०७८हुने जनगणनामा यसो हुन् नदिन हामीले सबै तिर अभियान नै चलाई रहेका छौं ।
कोहारहरु पनि कुम्हार नै हुन् । कोहारको जनसंख्या पनि कुम्हारकै जनसंख्यामा जोडिनु पर्नेछ । कोहार कुम्हार कै थर हो । कोहार बाहेक नेपालमा कुम्हारहरुले पंडित, प्रजापति, प्रजापत, कुमाल, कुम्हार, कुम्भकार, पाल, चक्रवर्ती, आदि थर लेख्ने गरेको पाइन्छ ।
७. कुम्हार जाति आदिवासी जनजातिमा पर्छ कि पर्दैन ?
अन्तराष्ट्रिय श्रम संगठनको १६९ घोषणापत्र अनुसार एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ सालको परिभाषा र मापदण्ड अनुसार कुम्हारहरु जनजाति मानिए पनि नेपाल सरकारले कुम्हारलाई जनजातिमा आजसम्म सूचिकृत गरेको छैन ।
आदिवासी जनजातिको सूची परिमार्जनको लागि अध्ययन अनुसन्धान गरी सुझाव पेश गर्न नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०६५÷१२÷५ को निर्णयले प्रा.डा. ओम गुरुड्डको संयोजकत्वमा ९ सदस्यी उच्चस्तरीय कार्यदल बनायो, उक्त कार्यदलले बि.सं २०६६ फाल्गुन ५ मा आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझायो जसमा प्रष्ट उल्लेख गरिएको छ कि तराईको कुम्हार÷कुम्भकार÷प्रजापति÷कोहार पनि नेपालको आदिवासी जनजाति हो, यी जातिहरुलाई पनि ऐनमा सूचिकृत गरिनुपर्दछ ।
प्रतिष्ठानको ऐन २०५८ मा सुचिकृत ५९ जातिभित्र पनि भाषिक–सांस्कृतिक विविधता भएको र प्रष्ट रुपमा राज्यले सम्बोधन गर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति तहबाट, प्रतिष्ठानका कार्यकारिणी सदस्य श्री ज्ञानेन्द्र पुनको संयोजकत्वमा ७ सदस्यी आदिवासी जनजाति उपसमूह निर्धारण कार्यदल २०७३ गठन गरी कार्यादेश गरयो । यस कार्यदलको कच्चा प्रतिवेदनले कुम्हारहरुलाई पनि कुमाल अन्तर्गतकै फरक भाषिक र सांस्कृतिक विविधता भएको जातिको रुपमा स्थापित गर्न खोजेको देखिन्छ र कुम्हारहरुलाई पनि कुमाल जातिकै उपजाति बनाएर सूचिकृत गरिनुपर्ने संकेत गरेको छ तर विड्म्बना प्रतिष्ठान भित्रको अस्तव्यस्तता, क्षेत्रीय एवं जातीय पुर्वाग्रहहरुले गर्दा हाल सम्म पनि कुनै निकास निस्कन सकेको छैन ।
८. कुम्हार पिछडा बर्गमा पनि पर्छ नि?
विकास समिति ऐन २०१३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले २०६५ माघ २० गते पिछडिएको समुदाय उत्थान विकास समिति (गठन) आदेश २०६५ जारी गरी सोही गठन आदेश अनुसार हाल पिछडिएको समुदाय (इद्यऋ) उत्थान विकास समिति गठन भई सञ्चालनमा रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत एउटा समितिको रुपमा रहेको पिछडावर्गको प्रयोजनका हिसाबले र अधिकारका हिसाबले अब खासै महत्वपूर्ण छैन । यो केवल एउटा समूहगत अलग पहिचानको रुपमा मात्र सिमित छ । यसबाट जाजातिहरुलाई खासै कुनै फायदा प्राप्त भएको छैन । यद्यपि कुम्हार जाति पिछडावर्गको २९ जातिको अग्र सुचिमै सूचिकृत रहेको छ ।
९. के कुम्हार जाति अल्पसंख्य जाति हो ?
सरकारले पछिल्लो स्थानीय तहको निर्वाचन प्रयोजनका निम्ति भन्दै आदिवासि जनजाति लगायत ०.५ प्रतिश्त भन्दा कम जनसंख्या भएको ९८ जनजाति समूह र त्यसभित्रका उपजाति समूहका गरी ४९लाई अल्पसंख्यक सूचीमा राखिएको छ । यस सुचिमा कुम्हार जातिलाई पनि अल्पसंख्यक जातिको सूचिमा राखेको छ जसको सुचना मिति २०७४÷१÷११ मा खण्ड ६७ संख्या २ नेपाल राजपत्र भाग ५ मा प्रकाशित छ ।
१०. हिजो आज कुम्हारहरुले भाँडाकुडाँ बनाउन छोडदै गएको देखिन्छ किन यस्तो? के गर्दा यस उद्योगको सुधार गर्न सकिन्छ ?
नेपालमा सहज रोजगारी सृजना गर्न सेरामिक्स उद्योग नेपालको लागि एउटा सम्भावा भएको उद्योग रहँदै आएपनि वर्तमान समय र सन्दर्भमा यस बिषयमा सरकारी वा गैर सरकारी स्तरबाट खासै अध्ययन र चासो रहेको देखिन्न । यो क्षेत्र पुरा पुरा वेवास्तामा परेको छ । बजारमा हिजोआज माटाको भाँडाकुडाँको विकल्पहरु धेरै उपल्बध छन् । सँगै कुम्हारहरुलाई बजार एवं कच्चा पदार्थको अभाव, सुकाउने तथा भण्डारण गर्ने स्थानको अभाव छ यसर्थ कुम्हारहरु माटाको भाँडाँकुडा बनाउने पेशाबाट निरुत्साहित हुँदै गईरहेका छन् ।
नेपाल कमर्स क्याम्पस काठमाडौंका उपप्राध्यापक डा. प्रकाश श्रेष्ठको अध्ययन ‘ऋजबििभलनभक बलम कअयउभक या उयततभचथ ष्लमगकतचथ ष्ल ल्भउब’ि (सन् २०१८) को अनुसार अन्तराष्ट्रिय बजारमा नेपालबाट उत्पादित माटाका गुणस्तरीय वस्तुहरुको धेरै माग छ । नेपालबाट निर्यातहुने बस्तुहरु मध्ये सेरामिक्सको हस्तकलाहरुले प्रमुख स्थान ओगटेको देखिन्छ । सरकारी तथ्याङ्कहरुका अनुसार प्रतिबर्ष नेपालबाट एक करोड हाराहारीको सेरामिक्स हस्तकला विदेश निर्यात भईरहेको छ । नेपाल हस्तकला महासंघका अनुसार नेपाली सेरामिक्स हस्तकला निर्यात गर्ने देशहरुमा अमेरिका (१०.१ मिलियन, २०१८मा) प्रथम स्थानमा छ । त्यसपछि जर्मनी (२.६ मिलियन, २०१८मा) र क्यानेडा (२.५ मिलियन, २०१८ मा) को स्थान रहेको छ ।
नेपालमा यस उद्योगको पुर्नस्थापना जरुरी छ । यसका लागि सरकाले पहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको व्यवस्थापन गर्नुपर्ने हुन्छ । भन्सारमा पनि सहुलियत प्रदान गर्नु पर्ने हुन्छ । अर्को तिर कुम्हारहरुलाई यस उद्योगमा नयाँ नयाँ प्रविधिसँग जोडेर व्यापक प्रशिक्षण दिनु आवश्यक छ । सरकाले स्थानीय निकायहरुलाई यस उद्योगको प्रवर्धनमा सक्रिय गराउँदै पर्यटकीय क्षेत्रहरुमा सेरामिक्स प्रदर्शनी कक्षको निमार्ण गर्नु उचित हुनेछ । कच्चा पदार्थको अभावलाई पनि वैज्ञानिक ढड्डबाट व्यवस्थापन गर्नु जरुरी छ ।
११. भारतको कुम्हारहरुसँग तपाईहरुको सम्बन्ध कस्तो हो ?
भारतका कुम्हारहरुसँग हाम्रो सुमधुर सम्बन्ध रहेको छ । अखिल भारतीय प्रजापति महासंघसँग हाम्रो नियमित भेटघाट एवं भावना साटासाट हुने गरेको छ । नेपाल र भारतका कुम्हारहरुको रोटी बेटीको समबन्ध रहेको छ ।
१२. भक्तपुरको प्रजापतिसँग तपाईहरुको कस्तो सम्बन्ध छ ?
काठमाडौं उपत्यकाको भक्तपुर जिल्लामा भाँडाकुडाँ बनाई जीविको पार्जन गर्ने प्रजापति थर लेख्ने नेवारी जातिको एक समुदाय कुम्हार जस्तो देखिए पनि उनीहरु कुम्हार होइनन् । यसर्थ वहाँहरु हाम्रो कुम्हार जाती अन्तर्गत पर्नु हुन्न । यद्यपि वहाँहरुसँग हामी हाम्रो पेशागत विकासको लागि सहकार्य गरिरहेका छौं । यसर्थमा वहाँहरुसँग हाम्रो सम्बन्ध सुमधुर रहेको छ ।
१३. हाल सम्म यस समाजले कुम्हारहरुको लागि के के गरेको छ ?
बि.सं २०७५मा बारा पर्साका हावाहुरी तथा असिना पिडितहरुलाई २ लाख बराबरको राहत सहयोग गरियो । कुम्हार जातीलाई जनजातीमा सुचिकृत गराउन सन् २०१९मा राष्ट्र संघ प्रतिनिधि मार्फत अन्तरक्रियात्मक अन्तराष्ट्रिय पहल गरिएको छ । समाजको जिल्ला कार्य समितिहरुको व्यापक विस्तार गरियो । बार्षिक रुपमा क्यालेन्डर प्रकाशन र घरघरमा निः शुल्क वितरण गरिँदै आएको छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने कुम्हारहरुलाई एकजुट गर्न प्रत्येक बर्ष वनभोज आयोजना गरिँदै आएको छ । विपद पिडितहरुका लागि तथा स्वजातीय बन्धुहरुका लागि आवश्यक पर्दा रगतको सहज उपल्बध्ताका लागि बार्षिक रुपमा रक्तदान कार्यक्रम गरिँदै आएको छ । क्भ्भ् परिक्षामा सफल, उत्कृष्ट २१ जना परीक्षार्थीहरुलाई प्रत्येक बर्ष सम्मन गरिँदै आएको छ । बि. सं. २०७४ मा तराईमा आएको बाढी पहिरो पिडितलाई १ लाख बराबरको राहत सुनसरी जिल्लामा वितरण गरियो । प्रत्येक बर्ष शिवरात्रीका दिन पशुपतिनाथ मन्दिरमा भक्तजनहरुका लागि निःशुल्क रुपमा जल वितरण गरिँदै आएको छ । कुम्हार समाजका लागि उल्लेखनीय योगदान गर्ने श्रद्धेय व्यक्तित्वहरुलाई बार्षिक रुपमा कदर पत्र सहित सम्मान गरिँदै आएको छ ।
१४. अन्तमा हरुले केही बिशेष भन्न चाहनु हुन्छ ?
तराई कुम्हार समाज कुम्हारहरुलाई राष्ट्रियव्यापि रुपमा संगठित गर्न र उत्थान गर्नका लागि स्थापित गैर राजनीतिक एवं सामाजिक संस्था हो । यसको उदेश्य प्राप्तिका लागि सबैको सहयोग र सहभागित जरुरी छ । अतः सबै जना मिलेर कुम्हार जातिको सामाजिक एवं पेशागत विकासका लागि अघि बढौं यसबाट नै हाम्रो परिवार, गाँउ, शहर र देशको समृद्धि पनि सम्भव हुनेछ ।
(This interview was published in 'The News Post, Nepali Monthly Magazine on 15th Ashar, 2076)

Comments